Friday, October 16, 2009

महाकवी देवकोटा र नेपाली साहित्य

      
           नेपाली साहित्याकाशमा  लगभग २५० वर्ष अघिको अवधि सम्म पुग्न सकिन्छ । यस अवधिमा नेपाली साहित्यको बगैँचामा थुप्रै मालीहरु देखापरे र साहित्य-बँगैचालाई यथाशक्य गोडमेल र मलजल गरे । त्यस्तै साहित्यिक मालीहरुमध्ये विक्रमको बीसौँ शाताब्दीको उत्तरार्धतिर महाकवि लक्ष्मीप्रसाद देवकोटा देखापरे । यिनै साहित्यका विराट् र अद्भुत प्रतिभाका बारे चर्चा गर्ने यहाँ जमर्को गरेको छु ।
जन्म र बाल्यकाल
गोर्खाबाट काठमाडौँ आएर बसोबास गर्न थालेको देवकोटा वंशमा विसं १९६६ साल कार्तिक २७ गते शुक्रबार एउटा बालकको जन्म भयो र तिहारको लक्ष्मीपूजाका दिन जन्मेको हुनाले उक्त बालकको नाम लक्ष्मीप्रसाद राखियो । पण्डित तिलमाधव देवकोटा र अमरराज्यलक्ष्मीदेवीका साहिँला सुपुत्रका रुपमा जन्मेका लक्ष्मीप्रसादको नक्षत्रअनुसार न्वारानको नाम तीर्थमाधव भए पनि धनकी देवी लक्ष्मीको प्रसाद ठानेर लक्ष्मीप्रसाद नै भन्न थालियो र यसै नामबाट उनी नेपाली साहित्याकाशमा कहिल्यै नअस्ताउने ताराका रुपमा चम्किइरहेका छन् । बाल्यावस्थामा देवकोटा एकहोरो स्वभावका थिए । देवकोटा जन्मेको समयमा काठमाडौँमा त्यतिका घरहरु थिएनन् । वरिपरिको खुला प्राकृतिक वातावरणमा चाहारेर उनी घण्टौँ बिताउँथे ।
 १९७४ सालमा ८ वर्षको उमेरमा उनको व्रतबन्ध गरियो र आफ्नै पिताबाट उनले गायत्रीमन्त्र प्राप्त गरे ।महाकवि  देवकोटाले १९७१ सालमा ५ वर्षको उमेरमा आफ्ना पिताबाट अक्षरारम्भ गरेका थिए । उनले घरमै आफ्ना पिताबाट अमरकोश रघुवंश आदिको अध्ययन गरे । विलक्षण स्मरणशक्ति भएका देवकोटा एकदुईपटक पढेर संस्कृतका क्लीष्ट श्लोकहरु कण्ठाग्र गर्ने गर्थे । उनका पिताले उनलाई संस्कृत पढाउन तीनधारा पाठशालामा भर्ना गर्ने व्यवस्था मिलाएका थिए । त्यतिखेर संस्कृतभन्दा अङ्ग्रेजीको प्रभाव बढी भएकाले उनकी आमा र जेठा दाजु लेखनाथको जोडले १९७७ मा ११ वर्षको उमेरमा दरबार स्कुलमा पाँचौँ कक्षामा उनी भर्ना गरिए । आफ्नो विलक्षण प्रतिभाका कारण उनी कक्षा आठमा पढ्दापढ्दै नवौँ कक्षाको जाँच दिई तेस्रो स्थानमा उत्तीर्ण भए । यसैक्रममा १९८१ सालमा १५ वर्षको उमेरमा १३ वर्षीया मनदेवी चालिसेसँग उनको विवाह हुन पुग्यो । १९८२ मा उनले पटना विश्वविद्यालयबाट प्रथम श्रेणीमा म्याटि्रक प्रवेशिका परीक्षा उत्तीर्ण गरे । १९८३ मा त्रिचन्द्र कलेजमा आईएस्सी पढ्न सुरु गरी १९८५ मा दोस्रो श्रेणीमा आईएस्सी उत्तीर्ण गरे । त्यसपछि बीएमा भर्ना भई १९८७ मा बीए उत्तीर्ण गरे । त्यसवर्ष नेपालबाट उनी एकजनाले मात्र बीए उत्तीर्ण गरेका थिए । १९८८मा सरकारी छात्रवृत्तिमा बीएल पढ्न पटना गई १९९० मा बीएल पूरा गरे । पटनामा रहँदा उनले अङ्ग्रेजी एमएको अध्ययन गर्न थालेको पाइन्छ । १९९१ र १९९२ मा क्रमशः उनका माता र पिताको निधन भएको र पारिवारिक जिम्मेवारी आफ्नो काँधमा आएको हुनाले एमएको पढाइलाई निरन्तरता दिन सकेनन् । यसरी औपचारिक अध्ययन पूरा भए पनि उनले अङ्ग्रेजी संस्कृत हिन्दी बङ्गला साहित्यको गहन र विशद् अध्ययन गरेका थिए ।
साहित्य यात्रा
देवकोटाका पिता पण्डित तिलमाधव  पनि थोरबहुत कविता लेख्ने गर्थे । संस्कृतका विद्वान् उनी कुशल पुराणवाचक थिए । उनी दरबारमा संस्कृत र नेपाली पढाउने गर्थे । पिता आफूले लेखेको संस्कृत तथा नेपाली कविताका पाण्डुलिपि महाकविलाई सार्न दिन्थे । यसैगरी उनले कविशिरोमणि लेखनाथ पौड्यालका कविताहरु ऋतुविचार बुद्धिविनोद काव्य र भर्तृहरिनिर्वेद नाटक लय हालीहाली पढ्ने गरेका थिए ।यसरी पैतृक संस्कार र कविशिरोमणिको प्रभावबाट देवकोटामा कविता सिर्जनामा अनुराग बढ्न थाल्यो । उनले जेठी भाउजूको प्रेरणाबाट दश वर्षको उमेरमा मत अभागिनी पो भएछु भन्ने विरहको कविता लेखेका थिए । त्यसैगरी दश वर्षकै उमेरमा पिताजीका प्रभावमा परेर उनले एउटा सानो कविता लेखेका थिए जुन यसप्रकार छ :-

घनघोर दुःख सागर जान भाइ नगर घमन्ड कहिले मर्नु छ हामीलाई ।

यसरी दश वर्षको कलिलो उमेरमा देवकोटाले हुने विरुवाको चिल्लो पातको लक्षण देखाइसकेका थिए । यसपछि स्कुल र कलेजमा पढ्ने क्रममा कविता र गीतहरु रचना गर्ने गरेका थिए । १८९१ मङ्सिर १५ गतेको गोर्खापत्रमा "पूर्णिमाको जलधि" कविता प्रकाशित हुन पुग्यो । यहीँबाट देवकोटाको औपचारिक र सार्वजनिक साहित्ययात्रा सुरु भयो । १९९१ कै फागुनमा शारदा मा उनको 'गरिब' कविता प्रकाशित हुन पुग्यो । १९९२ मा नेपाली साहित्यको सर्वाधिक बिक्री हुने कृति मुनामदन प्रकाशित हुन पुग्यो । यसपछि देवकोटाले थुप्रै फुटकर कविताको रचना गरे ।
                  यसैक्रममा २००२ मा तीन महिनाको अवधिमा लेखिएको शाकुन्तल महाकाव्य र एक रातमा लेखिएको कुिाजनी खण्डकाव्य देखा परे भने २००२ मै दश दिनमा रचना भई २००३ मा प्रकाशित सुलोचना महाकाव्य देखा पर्‍यो । यसरी १९९१ देखि २०१६ सम्मको कालावधिमा महाकवि देवकोटाले शाकुन्तल सुलोचना महाराणा प्रताप वनकुसुम पृथ्वीराज चौहान र प्रमिथस गरी ६ वटा महाकाव्यको रचना गरे भने यही समयमा मुनामदन राजकुमार प्रभाकर लुनी दुष्यन्त-शकुन्तला भेट कुिाजनी सीताहरण म्हेन्दु रावणजटायुयुद्ध नवरस कटक वसन्ती मायाविनी ससर्ी रामायण शोकगाथा नयाँ सत्यकलिसंवाद मैना वसन्ती सृजामाता नेपाली मेघदूत वैराग्यलहरी आनन्दशतक र झाझावर्णन गरी २१ वटा खण्डकाव्य समेतको रचना गरे । यसैगरी भिखारी पुतली सुनको बिहान गाइने गीत भावना गाङ्गेय आकाश बोल्छ छाँगासँग कुरा छहरा चिल्ला पातहरु क्ष्मीकवितासङ्ग्रह लक्ष्मीगीतिसङ्ग्रह मनोराजन जन्मोत्सव र मुटुको थोपा र मृत्युश췤ाबाट गरी जम्मा १४ वटा कवितासङ्ग्रह र माथिका कवितासङ्ग्रहहरुमा सङ्कलित र अन्य प्रकाशित-अप्रकाशित गरी जम्मा ६ सय ४४ वटा देवकोटाद्वारा रचित फुटकर कविता उपलब्ध भएका छन् ।
          साहित्यका लगभग सबै विधामा कलम चलाउने देवकोटाका सावित्रीसत्यवान् रजपूत रमणी भरतमिलाप र कृषिवाला गरी ४ वटा नाटक चम्पा एक उपन्यास लक्ष्मी निबन्ध सङ्ग्रह दाडिमको रुखनेर गरी २ वटा निबन्ध सङ्ग्रह स्रष्टा देवकोटाः द्रष्टा परिवेशमा एक समालोचनासङ्ग्रह प्रसिद्ध प्रबन्धसङ्ग्रह एक अनूदित निबन्धसङ्ग्रह म्याकबेथ एक अनूदित नाटक आदि प्रकाशित भएका छन् ।
        माथि उल्लेख गरिएका साहित्यिक कृतिका अतिरिक्त देवकोटाले संस्कृत र अङ्ग्रेजीमा पनि कविता रचना गरेका थिए । उनका कतिपय रचनाहरु हराएका कैयौँ रचनाहरु अरुले आफ्नै नाममा छपाएका र बनारस निर्वासित भएका बेला देवकोटाले कविता बेचेर छाक टारेका थिए ।

यसरी १९७६ देखि २०१६ सम्मको देवकोटाको चालीस वर्षे साहित्ययात्रालाई १९७६ देखि १९९० सम्मको १५ वर्षे समयावधिलाई कविताको प्रस्फुटन र अभ्यासकाल र १९९१ देखि २०१६ सम्मको २५ वर्षे अवधिलाई उर्वरकाल मान्न

सकिन्छ । यही अढाई दशकको अवधिमा परिमाण र गुणात्मक दुवै दृष्टिले जेजति साहित्यिक कृतिहरु सिर्जना गरे तिनले देवकोटालाई नेपाली साहित्यको सगरमाथाको उचाइमा पुर्‍याए ।

असङ्ख्य साहित्यिक कृतिका स्रष्टा देवकोटा आफ्नो जीवनकालमा विविध सङ्घसंस्था तथा क्षेत्रमा संलग्न रहेका थिए । विसं २००० मा देवकोटा नेपाली भाषानुवाद परिषद्मा जागिरे भए । २००३ मा त्रिचन्द्र कलेजमा प्रोफेसरको पदमा नियुक्त भएर अङ्ग्रेजी र नेपालीको प्राध्यापन गरे । २००४ मा नेपाली शिक्षा परिषद्को सदस्य बने भने राणाशासनको अन्याय-अत्याचार सहन नसकेर सोही वर्ष भारतको बनारसमा निर्वासित भई ुयुगवाणीु पत्रिकाको सम्पादन गर्न थाले । उनले २००५ मा दार्जिलिङ गएर कविता सुनाएका थिए । २००६ सालमा बनारसबाट नेपाल फर्किए । २००९ मा राजा त्रिभुवनबाट सल्लाहकार सभाका सदस्य चुनिए । २०१० मा रुमानियामा भएको चौथो अन्तर्राष्ट्रिय युवक महोत्सवमा भाग लिन युवक सङ्ठनको तर्फबाट पूर्णबहादुर एमएको नेतृत्वमा देवकोटा पनि गएका थिए । २०११ मा भारतको दिल्लीमा भएको एसियाली जनसम्मेलनमा भाग लिई आग्राको ताजमहल हेर्नुका साथै अन्य ठाउँको भ्रमण गरेका थिए ।
२०११ मै राजा त्रिभुवनबाट सल्लाहकार सभाको सदस्यमा पुनः नियुक्त पाए र बिरोधी दलका नेता चुनिए । २०११ मा नेपाली पाठ्यपुस्तक निर्धारण समितिको निमन्त्रणामा नाटककार समसँग देवकोटा दार्जिलिङ गएका थिए भने यसैवर्ष नेपाली लेखक सङ्घका सदस्य बने । २०१३ सालमा दिल्लीमा भएको एसियाली लेखक सम्मेलनमा भाग लिन देवकोटाकै नेतृत्वमा एउटा प्रतिनिधिमण्डल गएको थियो । २०१४ मा रोयल नेपाल एकेडेमी हाल नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान का सदस्य बने भने यसै वर्ष देवकोटा चारमहिनाजति डा। केआइ िसंहको मन्त्रीमण्लमा शिक्षा तथा स्वायत्तशासन मन्त्री भएका थिए । २०१५ मा रुसको तासकन्दमा भएको एसियाली लेखक सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डल देवकोटाकै नेतृत्वमा गएको थियो । यसरी देवकोटाले विविध क्षेत्रमा संलग्न हुँदै भारतको दार्जिलिङ कालिम्पोङ सिक्किम कलकत्ता बनारस पटना आग्रा दिल्ली आदि ठाउँका अतिरिक्त नेपालका इलामको कर्फोक धादिङको झोल्टुङ वीरगन्ज आदि ठाउँ र रुस अजरबैजान साइबेरिया चीन रुमानिया स्विट्जरल्याण्ड हङ्गेरी आदि राष्ट्रको भ्रमण गरेका थिए ।
            साहित्यका यस्ता महान् हस्ती देवकोटाको साहित्यिक जीवन जति जाज्वल्यमान उच्च र प्रतिष्ठित थियो घरायसी आर्थिक र व्यावहारिक जीवन त्यति नै कष्टकर अभावग्रस्त कारुणिक र जटिल बन्न पुगेको थियो । धनकी देवी लक्ष्मीको प्रसाद ठानेर उनको नाम लक्ष्मीप्रसाद राखिएको भए पनि उनले आजीवन आर्थिक अभावमा दुई छाक टार्न पनि पाएनन् । घरायसी व्यवहार चलाउन उनी १६-१७ घण्टासम्म ट्युसन पढाउने गर्थे । निरङ्कुश राणाहरुको शासनकालमा ४१ वर्ष बिताएका देवकोटाले अभाव पीडा तिरस्कार र अवमूल्यनको सागरमा डुबेर भए पनि नेपाली साहित्यलाई मोती नै मोती दिए । भारतका महान् विद्वान् राहुल सांकृत्यायनले देवकोटाजस्ता प्रतिभाको नेपालमा जन्म हुनु भौगोलिक गल्ती मानेका छन् । देवकोटाले १९९१ र १९९२ मा क्रमशः मातृवियोग तथा पितृवियोगको पीडा सहनुपर्‍यो । १९९२ मै उनकी दुई महिनाकी छोरीको मृत्यु भयो भने २००४ मा वनारसमा निर्वासित भएका बेला १५ वर्षीय छोरा कृष्णप्रसादको देहान्त भयो । २००९ मा उनका आईएमा पढ्ने २१ वर्षीय जेठा छोरा प्रकाशको देहावसान हुन पुग्यो । आर्थिक अवस्थाका कारणले उनका एकपछि अर्को सन्तानको मृत्यु हुन पुग्यो । यस्तै पीडा र आर्थिक कठिनाइका कारण उनी केही विक्षिप्त पनि हुन पुगे र उनलाई राँची लगेर उपचार गरियो । उनलाई राँचीमा उपचार गर्ने चिकित्सक डा। वर्कले हिल थिए । यसरी विषैविष पिएर भए पनि उनले नेपाली साहित्यलाई जुन गुन लगाएका छन् त्यो अविस्मरणीय छ ।
       प्रत्येक प्राणीभित्र ईश्वरको स्वरुप देख्ने देवकोटा काम गरिरहेका परिश्रमी हातलाई मात्र ईश्वरले चुम्दछन्। आर्त र दुःखीहरुको सेवा गरेर ईश्वरलाई खुसी पार्न सकिन्छ। आफूलाई नराखीकन भए पनि अरुलाई दिनाले नै वास्तविक सुख पाइन्छ भन्ने दृष्टिकोण राख्थे । उनी आफू पनि अरुलाई सक्दो सहयोग गर्थे । मानवतावादी देवकोटा तलब बुझेर बाँड्दै कहिले त रित्तो हात घर पुग्थे । एकपटक उनले आफूले लगाएको कोटसमेत फुकालेर दिएका थिए । प्रकृतिप्रेमी देवकोटा प्रकृतिबाट नै मानव सबैकुरा प्राप्त गर्न सक्छ भन्दै प्रकृति र मानवको घनिष्ठ सम्बन्ध रहेको ठान्दथे । आकारप्रकारमा सानो भए पनि गुणका दृष्टिले आफ्नो देशलाई विशाल ठान्ने राष्ट्रवादी देवकोटाले आफ्ना धेरै रचनामा राष्ट्रको महिमा गान गरेका छन् ।
        बहुमुखी प्रतिभाका उच्च शिखर देवकोटाका बारेमा विभिन्न विद्वानहरुले चर्चा गरेका छन् । भारतका महापण्डित राहुल सांकृत्यायनले भारतका विख्यात कवित्रय पन्त-प्रसाद-निराला मिलेर एउटा लक्ष्मीप्रसाद देवकोटा बनेको छ भनेका छन् । नाट्यसम्राट बालकृष्ण समले देवकोटा मुनामदन १९९२ मा शाकुन्तल २००२ मा र पागल २०१० मा गरी तीनपटक जन्मेका छन् भनेका छन् । कविशिरोमणि लेखनाथ पौड्यालले देवकोटाजस्ता विभूति कहिलेकाहीँ आउँछन्। चार-पाँचसय वर्षमा पनि आउँछन् कि आउँदैनन् भनी बताएका छन् ।
भोक-तिर्खा अभाव रोग शोकको परवाह नगरी नेपाली साहित्यको श्रीवृद्धिमा अहोरात्र खटिरहने महाकवि देवकोटाको अन्त्य अर्थाभावका कारणले असमयमै हुन पुग्यो ।
समयमा औषधोपचार हुन पाएको भए देवकोटा अझै लामो आयु बाँच्न सक्ने सम्भावना थियो । तर नेपाली जाति र नेपाल राष्ट्रको दुर्भाग्य भन्नुपर्छ त्यस्ता प्रतिभालाई बचाउन सकिएन । सन्तुलित खानाको अभाव जीविकोपार्जनका लागि धपेडी चुरोटको अत्यधिक सेवन मानसिक चोट आदिका कारण देवकोटालाई ग्यास्ट्रिक अल्सर भएको थियो । २०१४ मा कलकत्तामा परीक्षण गराउँदा डाक्टरले पेटमा क्यान्सर भएको र अप्रेसन गर्नुपर्ने सल्लाह दिएका थिए तर गर्मीको समयमा अप्रेसन गर्नु ठीक होइन भन्ने कुनै मित्रले सल्लाह दिएकाले २०१५ सालमा मात्र उनको पेटको अप्रेसन कलकत्तामा हुन पुग्यो । २०१५ मा रुस गएका बेला भएको अस्पतालमा १ महिना बसेर उपचार गरेर फर्किएका थिए तर आवश्यक पथ्यको अभाव र चुरोटको अधिक सेवनले उनको क्यान्सर रोग फेरि बल्झिन पुग्यो । पेटको क्यान्सर बढ्दै गएर असह्य बेदना हुन थालेपछि देवकोटालाई शान्तभवन अस्पतालमा भर्ना गरियो तर त्यहाँ रोग निको नहुने ठानेपछि पहिले अप्रेसन भएको कलकत्ताको अस्पतालमा उपचार गराउनका लागि कविले सहयोगका निम्ति अनुरोध गरे । विविध क्षेत्रबाट सहयोग पाएर देवकोटा २०१६ असारमा उपचारार्थ कलकत्ता प्रस्थान गरे तर क्यान्सर रोग निको हुन नसक्ने डाक्टरहरुले ठहराएपछि काठमाडौँ फर्किए । मस्कोमा गएर उपचार गराउने उनको इच्छा थियो तर अर्थाभावले त्यो कार्य सम्भव हुन सकेन । उनको व्यथा झन्झन् बढ्दै गयो । उनलाई शान्तभवन अस्पतालमा भर्ना गरियो । असह्य पीडा सहन नसकेर आफूलाई हेर्न आउने मित्र तथा आफन्तसँग उनले पोटासियम साइनाइड दिनुहोस् भनी अनुरोध गर्थे । उनले मृत्युशैय्यामा सुतेका बेला तीनवटा नेपाली र दुईवटा अङ्ग्रेजी कविता रचना गरेका थिए । २०१६ भाद्र २७ गते देवकोटालाई डाक्टरहरुको सल्लाह-अनुसार पशुपति आर्यघाटमा लगियो । त्यहाँ उनको दर्शन गर्न विद्यार्थीहरु लेखकहरु राजदूतहरु जान थाले । सरकारका तर्फबाट मन्त्री गणेशमान सिंह गएका थिए । त्यतिखेर देवकोटाले म माटोमा मिले पनि नयाँ नेपालको निर्माण होस् प्रजातन्त्र फलोस  फुलोस् मर्न नपाओस् भन्ने उदगार व्यक्त गरेका थिए । यसरी २०१६ भाद्र २९ गतेका दिन देवकोटाले सदासदाका लागि आँखा चिम्लिन पुगे । जीवनको अन्तिमक्षण सम्म पनि देशका लागि लेखिरहने सम्पूर्ण नेपालीका अत्यन्त आदरणीय महाकवि देवकोटाको भौतिक अस्तित्व हामीबीच नरहे पनि उनका साहित्यिक कृति विचार एवं मार्गनिर्देशनले हामीलाई आजसम्म पलपल उत्प्रेरित गरिरहेका छन् र भोलि पनि गरिरहने छन् । नेपाल नेपाली र नेपाली साहित्यका शुभेच्छुक जहाँजहाँ छन् त्यहाँत्यहाँ देवकोटा सधैँ उपस्थित भइरहेका छन् किनभने उनको चित्र प्रत्येक नेपालीको हृदयमा कोरिएको छ हरेक नेपालीको मनमा उनीप्रति अगणित आस्था श्रद्धा र सम्मानका पुष्पहरु छन् । त्यसैले उनी मरेर पनि बाँचिरहेका छन् ।
विधुतीय  कवि देवकोटा

नेपाली साहित्यमा आशुकवि भन्नाले शम्भुप्रसाद ढुङ्गेललाई चिनिन्छ । चन्द्रशमसेरले १९७२ मा उनलाई यो उपाधि प्रदान गरेका थिए । देवकोटा पनि आशुकवि थिए । जुनसुकै विषयमा तुरुन्त कविता लेख्न सक्ने कविलाई आशुकवि भनिन्छ । देवकोटाले तीनमहिनामा शाकुन्तल महाकाव्य १० दिनमा सुलोचना महाकाव्य एकरातमा "कुन्जिनी"    खण्डकाव्य रचना गरेका थिए । साथै दार्जिलिङ्ग गएका बेला एकै बसाइँमा दार्जिलिङ टिस्टा तिनौटा हामी नेपाली चरीजस्ता फुटकर कविता लेखेपछि पारसमणि प्रधानले उनलाई विधुतीय कविको उपाधि दिएका थिए ।
देवकोटा  र सुलोचना महाकाव्य
          २००२ मा देवकोटाले तीनमहिनाको अवधिमा शाकुन्तल महाकाव्य लेखेर नेपाली भाषानुवाद परिषद्का तत्कालीन अध्यक्ष पुष्कर शमशेरलाई देखाएका थिए । तर उनले यति छोटो समयमा महाकाव्यजस्तो कृति लेख्न सकिने कुरामा विश्वास गरेनन् । प्रतिभाका अजस्र धारा भएका देवकोटाले कति दिलाउन खोज्दा पनि पुष्कर शमशेरले नपत्याएपछि देवकोटा र उनको तर्कवितर्क हुनपुग्यो । त्यतिखेर म दश दिनमा महाकाव्य लेख्न सक्छु भनेर पुष्कर शमशेरलाई सुनाए । त्यसपछि १० दिनमा कार्यालयसमयभित्र कार्यालयकक्षमा बसेर चुनौतीस्वरुप देवकोटाले सुलोचना महाकाव्यको रचना गरे । २००३ मा यसको प्रथम प्रकाशन भयो ।
                    यसरी सुलोचना महाकाव्य को जन्म हुनपुग्यो । नेपाली साहित्यको एउटा सिङ्गो इतिहास बन्न पुगेका देवकोटाले ४९ वर्ष १० महिना र दुई दिन बाँचेर यस धर्तीबाट बिदा लिए । लगभग आधा शताब्दी मात्र बाँचेर पनि उनले दिएको योगदान विशिष्ट अद्वितीय र अतुलनीय छ । आफ्नो जीवनकालमा अभाव रोग र सन्तानको वियोगको पीडा सहेर पनि देवकोटाले नेपाली साहित्यलाई बिर्सन  नसकिने गुन  लाएका छन् । गरिबी र राज्यपक्षको गैरजिम्मेवारीका कारण उनले आजीवन मानसिक पीडा अभाव र छट्पटी व्यहोर्नु अनि असमयमै कालकवलित हुनुपर्‍यो । यस्ता महान् विभूतिले आजभन्दा लगभग ४६ वर्ष पहिले नै सांसारिक यात्राबाट बिदा लिए पनि आफ्ना रचनाहरुमा जुगौँजुग बाँचिरहनेछन् ।

1 comment:

  1. महाकविको सम्पूर्ण जिबनी एउटै पोष्टमा राखेर,उनका बारेमा जान्न खोज्नेलाई सन्दर्भ सामाग्री नै हुने गरी तपाईले प्रशंसायोग्य कार्य गर्नु भएको छ ।

    म आफैं पनि महाकविको ठूलो प्रसंसक भएकोले मेरोलागि त यो पोष्ट एकदमै अमूल्य नै रह्यो ।

    धेरै धेरै धन्यावद ।

    ReplyDelete

यसलाई बाड्नुहोस् ।

Share/Bookmark
Related Posts with Thumbnails

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out