नेपाली साहित्याकाशमा लगभग २५० वर्ष अघिको अवधि सम्म पुग्न सकिन्छ । यस अवधिमा नेपाली साहित्यको बगैँचामा थुप्रै मालीहरु देखापरे र साहित्य-बँगैचालाई यथाशक्य गोडमेल र मलजल गरे । त्यस्तै साहित्यिक मालीहरुमध्ये विक्रमको बीसौँ शाताब्दीको उत्तरार्धतिर महाकवि लक्ष्मीप्रसाद देवकोटा देखापरे । यिनै साहित्यका विराट् र अद्भुत प्रतिभाका बारे चर्चा गर्ने यहाँ जमर्को गरेको छु ।जन्म र बाल्यकाल
गोर्खाबाट काठमाडौँ आएर बसोबास गर्न थालेको देवकोटा वंशमा विसं १९६६ साल कार्तिक २७ गते शुक्रबार एउटा बालकको जन्म भयो र तिहारको लक्ष्मीपूजाका दिन जन्मेको हुनाले उक्त बालकको नाम लक्ष्मीप्रसाद राखियो । पण्डित तिलमाधव देवकोटा र अमरराज्यलक्ष्मीदेवीका साहिँला सुपुत्रका रुपमा जन्मेका लक्ष्मीप्रसादको नक्षत्रअनुसार न्वारानको नाम तीर्थमाधव भए पनि धनकी देवी लक्ष्मीको प्रसाद ठानेर लक्ष्मीप्रसाद नै भन्न थालियो र यसै नामबाट उनी नेपाली साहित्याकाशमा कहिल्यै नअस्ताउने ताराका रुपमा चम्किइरहेका छन् । बाल्यावस्थामा देवकोटा एकहोरो स्वभावका थिए । देवकोटा जन्मेको समयमा काठमाडौँमा त्यतिका घरहरु थिएनन् । वरिपरिको खुला प्राकृतिक वातावरणमा चाहारेर उनी घण्टौँ बिताउँथे ।