कुन्द दीक्षित
यसअघिको अन्तिम पानामा भारतको आकाशमा हवाईजहाज उडाउँदाको क्याप्टेन वेद उप्रेतीको मनछुने वर्णन पढ्दा धेरैलाई हवाईजहाज चलाउने रहर जाग्यो होला। सानैदेखि यस लेखकलाई पनि ककपिटमा बसेर, जोयस्टिक समातेर हवाईजहाज उडाउने रहर लागेको हो, काम र करिअरले अन्यत्रै डोर्याइदियो।
तर हाम्रो लागि सौभाग्यको कुरा हो, गएको १०-१५ वर्षमा कम्प्युटर सफ्टवेयरको विकासले गर्दा आजभोलि घरमै बसी-बसी हवाईजहाज उडाएर मज्जा लिन सकिने भएको छ। त्यसको लागि आफ्नो घर या अफिसको कम्प्युटरमा माइक्रोसफ्ट कम्पनीद्वारा उत्पादित फ्लाइट सिमिलेटर सफ्टवेयर प्रोग्राम राखेर हवाईजहाजको जस्तै हातले कन्ट्रोल गर्ने जोयस्टिक कम्प्युटरको सीपीयुमा जोड्दै स्त्रि्कन अगाडि बसे पुग्छ।
वषर्ैैपिच्छे परिमार्जन हुँदै आउने यो सफ्टवेयरले आजभोलिका हवाईजहाजको बनोट, ककपिटभित्रका सरसामान र हवाईजहाज बाहिरका सीन-सिनरी यति दुरुस्त हिसाबले प्रस्तुत गरेको हुन्छ, साँच्चिकै पाइलटहरू समेत छक्क पर्छन्। कतैकतै त पाइलट ट्रेनिङको लागि पनि यो सफ्टवेयर उपयोग हुनथालेको छ। भू-उपग्रहबाट खिचिएका तस्बिरको सहयोगमा हिमाल, पहाड, उपत्यकाको भौगोलिक दृश्य जस्ताको तस्तै देखिन्छन्। हवाईजहाजको नेभिगेशन (राडार, रेडियो, एभियोनिक्स आदि) को पनि वास्तविक उडानमा कमर्सियल पाइलटले जस्तै गरी उपयोग गर्न पाइन्छ। यति मात्र होइन, स्पिकर छ भने आवाज पनि हवाईजहाजकै जस्तो आउँछ।
लौ त अब आफ्नै घर या अफिसमा बसी बसी नेपालको आकाशमा घुमौँ। पहिला हवाईजहाजको छनोट गर्नुहोस्― नेपालमा हवाई यातायात सुरुआत गर्ने डीसी-३ डेकोटा, या आजभोलि हाम्रा आकाशमा धेरै उड्ने डोर्निएर, ट्वीन अटर, जेटस्ट्रिम वा बिचक्राफ्ट-१९००।
आफूले छानेको ट्वीन अटर लिएर ताप्लेजुङको सुकेटार विमानस्थल जान तयार हुनुस्। त्रिभुवन विमानस्थलको उत्तरतर्फ मोडिएको धावनमार्ग-२० मा आफ्नो हवाईजहाज लिएर जानुस्। फ्ल्यापलाई १५ डिग्रीमा राख्नुस्, अनि थ्रटल दबाएर इञ्जिनलाई पूरा ऊर्जा दिई प्लेनलाई धावनमार्गमा दौडाउनुस्। हवाईजहाज दौडन्छ अनि ६० किमी प्रतिघण्टाको वेगमा पुगेपछि जोयस्टिक आफूतिर तान्दा आकाशिन्छ। दाहिने मोड्दा तल बागमती देखिन्छ। चाँगुनारायण मन्दिरमाथि हुँदै शिवपुरी र नगरकोट डाँडालाई बायाँ पारेर अनि साँगाभञ्ज्याङ र बनेपा भएर सम्पूर्ण पूर्वी पहाडको आकाशमा तैरिँदै सुकेटार विमानस्थलतर्फ लाग्नुस्। बायाँतर्फ एकपछि अर्को हिमचुचुरा देखिन्छन्― जुगल हिमाल, गौरीशङ्कर, खुम्बु हिमालको गोला (सगरमाथासहित)। भोटे कोशीमाथि आइपुग्दा बायाँपट्टि कोदारीको खोँच देखिन्छ र दायाँपट्टि सुनकोशीले विभिन्न खोलाको बहावलाई समेट्दै गएको। बायाँ दोलखा, दायाँ मन्थली र खलढुङ्गा।
मकालु हिमाल बायाँपट्टि आइपुग्दा विस्तारै अवतरण गर्ने बेला हुन्छ। अवतरणअघि पहिला अरुण नदी आइपुग्छ र तल संखुवासभाको तुम्लिङटार विमानस्थल छर्लङ्ग देखिन्छ। अलि अगाडि तमोर नदी छ भने त्यसको पूर्वी पाखाको उचाइमा सुकेटार विमानस्थल छ, पहाडको टुप्पैमा। जहाज उडानको प्रशस्त अभ्यास छ भने यो अलि जोखिमपूर्ण धावनमार्गमा पनि तपाईं सहजै उत्रन सक्नुहुन्छ।
सुकेटार विमानस्थलबाट उड्नुस् र खुम्बु उपत्यकाको लुक्ला विमानस्थल हुँदै चारैतिरबाट सगरमाथा/चोमोलोङ्माको निरीक्षण गर्न जानुस्। त्यहाँबाट सीधै दक्षिण हानिएर कमै चलेको राजविराज विमानस्थलमा अवतरण गर्नुस्। तपाईंलाई सुदूरपश्चिमाञ्चलको भौगोलिक बनोट र त्यहाँका मैदान, डाँडाकाँडामाथि उड्ने उत्सुकता छ भने सीधै राजविराजबाट नेपालगञ्जतिर लाग्नुस्। अनि नेपालगञ्जबाट उडान भर्नुस्― बाजुराकोे कोल्टी, हुम्लाको जुफाल, सुर्खेत विमानस्थल। देशाटनबाट थकाइ लागेको भए काठमाडौं फर्कंदा अलिबेर विश्रामको लागि आजकल हवाईसेवा नचलेको गोरखाको पालुङटार विमानस्थलमा अवतरण गर्न सक्नुहुन्छ।
सीधै काठमाडौँ के गइहाल्नु भन्ने लाग्छ भने फेरि पोखरातिर फर्कंदै कालीगण्डकीको खोँचमा उडानको आनन्ददायी अनुभूति बटुलेर जोमसोम हुँदै मुक्तिनाथमाथि जहाज घुमाउनुस्। अनि इञ्जिनलाई अलि दम दिँदै १७,००० फिटको उचाइमा रहेको थोरङ-ला भञ्ज्याङ पार गरेर लार्केभोट र बूढीगण्डकीको उद्गमस्थलबाट आरुघाट र त्रिशूली नदी हुँदै गणेश हिमाललाई बायाँ पार्दै, ककनी भञ्ज्याङबाट काठमाडौँ उपत्यका प्रवेश गर्नुस् र बूढानीलकण्ठको दर्शन गर्दै धावनमार्ग-०२ मा अवतरण गर्नुस्।
थकाइ लाग्यो होला, हतारोमा देशाटन गर्दा। तर कम्प्युटर न हो, फेरि अलि विस्तारै रमाइलो लिँदै आफ्नो मुलुकको यात्रा गरे भइहाल्यो नि!
साभार: हिमाल ख़बर पत्रिका
Nepal says it will need billions in funding to rebuild after flash floods
-
The deadly flash floods on the Nepal-Tibet border – which scientists are
still studying the exact cause of – at least 1,200 people have died and
thousands...
2 weeks ago
No comments:
Post a Comment